रोचक

मनकारी ट्याक्सी चालक: जसले वृद्धवृद्धा, दृष्टिविहीन र दुखीलाई नि:शुल्क यात्रा गराउँछन् !!

मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग१ज ४९०९ नम्बरको टयाक्सी टक्क अडिन्छ । टयाक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । ड्राइभरलाई भाडा बुझाउन खोज्छन् । तर ति ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका वृद्धवृद्धा टयाक्सीको वरिपरि झुम्मिन्छन् र ड्राइभरलाई आशिष दिन थाल्छन् । ड्राइभर खुसी हुँदै त्यहाँबाट निस्कन्छन् ।पोखरा रामबजारका चेत आलेले आफ्नो टयाक्सीमा वृद्धवृद्धा ओसार्न थालेको महिना दिन पुग्यो । उनी वृद्धाश्रममा मात्रै होइन बजारभित्र जहाँ पुर्‍याउनु परेपनि ९० वर्ष माथिकासँग एक सुक्को लिँदैनन् । वृद्धाश्रममा बस्ने वृद्धवृद्धालाई भने उनी उमेरको हदबन्दी लगाउँदैनन् । टयाक्सी उनको आफ्नै हो । टयाक्सीको अघि र पछि दुबैतिर यिनले लेखेरै टाँसेका छन्– वृद्धवृद्धा सम्मान, ९० वर्ष माथि १०० प्रतिशत छुट, वृद्धआश्रम १०० प्रतिशत छुट (सबै उमेरका लागि) ।

टयाक्सी बाहेक अर्को आम्दानीको स्रोत नभएका यिनलाई किन समाजसेवाको रहर जाग्यो होला ? ‘धनसम्पत्ति धेरै भएर होइन,’ उनी भन्छन्, ‘मन्दिरमा गएर पूजाँ गरेर पैसा चढाउनुभन्दा यसरी धर्म हुन्छ जस्तो लागेर हो ।’त्यतिमात्रै सोचेर उनी समाजसेवामा लागे होलान् त ?‘बा–आमा सरहका वृद्धवृद्धालाई स्याहार गर्दा आफ्नै बा–आमालाई स्याहार गरेजस्तो लाग्छ,’ छातीमा हात राखेर आँखा चिम्म गरेर उनले भने, ‘बुढाबुढीले आशिर्वाद दिदाँ आँत नै भरिएर आउँछ ।’चेतका दुई आमा छन् । दुवै उनीसँगै बस्छन् । भूतपूर्व गोर्खा सैनिक बुबा बेलायतमा कान्छो छोरासँग बस्छन् । चेत पनि एकताका भारतीय सैनिकमा थिए । १० वर्ष जागिर गरेपछि स्वेच्छिक अवकास लिएर नेपाल फर्के । वालिङको पुख्र्यौली थाँतथलो छोडेर रामबजार आए । द्वन्द्वकालमा नेपाल भनेजस्तो केही भएन । उनी साउदी हान्निए । त्यसपछि कतार, मलेसिया, इराक र पुन कतारमा १२ वर्ष कसरी वित्यो भन्ने भेउ नपाएको उनी बताउँछन् ।

‘अब भएन, विदेश धेरै बसियो, नेपालमै केही गर्छु भनेर फर्किए,’ उनले सुनाए । मोटाघाटा जिउ भएका उनलाई अरु काम सक्छु जस्तो लागेन । एउटा टयाक्सी किने र घरनजिकै रामबजार चोकमा क्यु थाप्न बसे । अहिले दुई आमा, श्रीमती, एक छोरा र एक छोरीको लालनपालन त्यही टयाक्सीको भरमा छ ।हातमुख जोर्ने आम्दानीको स्रोतमा कमि हुँदा जहानले के भन्दिहुन् ? बाआमाले सम्झाउँदा हुन् कि हुँदैनन् ? उनी अरूले सोचेजस्तो घरपरिवारले अप्ठेरो नमानेको सुनाउँछन् । ‘बुढी सजिलै छ,’ सन्तुष्टि भावको मधुर मुस्कानमा उनले भने, ‘बाआमाले पनि राम्रै गरिस् भन्नुहुन्छ ।’त्यसो त उनले महाभूकम्पमा परेका भूकम्पपीडितलाई नि:शुल्क सेवा दिए । भूकम्पमा परी घाइते भएर पोखरा ल्याइएकालाई यिनले सित्तैमा ओसारे । वैशाख १२ पछि ५० दिनसम्म पोखराका विभिन्न अस्पतालबाट भूकम्पपीडितले सेल्टर लिएको ठाउँसम्म निशुल्क पुर्‍याए ।

‘मोटो ज्यान लिएर गोरखा जान सक्छु जस्तो लागेन,’ त्यतिबेलाको अवस्था सुनाउँदै उनले भने, ‘बरु यही सेवा गर्न सक्छु जस्तो लागेर भूकम्पपीडितलाई सेवा दिएँ ।’ भूकम्पपीडितलाई सेवा दिँदाको सन्तुष्टि पनि उनले सुनाउन भ्याए । ढाँड भाच्चिएकोले उचाल्नै नमिल्ने एकजना घाइतेलाई उनले अस्पताल पुर्‍याएछन् । केही दिनपछि ति घाइते ठिक भएर उनैको टयाक्सीमा फर्केछन् । ‘मैले बोकेको विरामी ठिक भएर मेरो काखैमा खेलेर गए । त्यतिखेर निकै खुसी लाग्यो,’ उनले भने ।महिना दिनमा उनको टयाक्सीले १५ जना वृद्धवृद्धा बोक्यो । आफूले बोकेका वृद्धवृद्धासँग उनले पैसा लिँदैनन् बरु प्रत्येकको रेकर्ड राख्छन् । उनले रेकर्ड राख्नै लागि कलम र कापी टयाक्सीमै राखेका छन् । वृद्धवृद्धालाई बोक्दा उनलाई खिस्याउने टयाक्सी ड्राइभर पनि छन् ।‘कतिपयले हाँसेर उडाउँछन्,’ उनले भने, ‘भोलि बिहान बुढाबुढीको लाइन लाग्यो भने के गर्छस् पनि भन्छन् । मलाई भने उदाहरणीय काम सबैले गरे हुन्थ्यो जस्तो लाग्छ ।’ भूकम्पपीडित र वृद्धावृद्धा पछि उनले अर्को समूहलाई पनि नि:शुल्क सेवा दिने सोच बनाएका छन् । ती हुन् दृष्टिविहीन।उनले आफ्नो सोचलाई व्यबहारमा उतारे भने पोखरामा गुड्ने टयाक्सी नम्बर ग१ज ४९०९ को अगाडि र पछाडि लेखेको देखिने छ– दृष्टिविहीनलाई सतप्रतिशत छुट ।

(यो सामाग्री केहि पहिलेको भएपनि सान्दर्भिक लागेर कान्तिपुरबाट लिएका हौ)

Related Articles

Close