मनोरंजन

रानु मोन्डललाई वर्षौंपछि भेट्न आइन् उनकी छोरी

भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डल अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् ‘रानाघाटकी लता मंगेशकर’ को उपाधि पाएकी रानुले हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ गीतमा स्वर दिएसँगै झनै चर्चामा आएकी छन्।उनको तारिफ नगर्ने सायदै कोही छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रानु पहिले मुम्बई बस्थिन्। श्रीमानको निधन भएपछि उनी रानाघाट रेलवे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी थिइन्। उनको घर र बस्ने ठेकान थिएन। उनी एक्लै रेलवे स्टेसनमा भिक मागेर बस्दै आएकी थिइन्।तर हालै रानुकी छोरी स्वातीले उनलाई भेटेकी छन्।

लामो समयदेखि भेट नभएका आमाछोरीको अँगालो हालेको तस्बिर सञ्चारमाध्यमहरूमा छापिएका छन्।स्वातीका अनुसार उनले रानुलाई भेट्न धेरै प्रयास गरे पनि सम्पर्क गर्न सकिरहेकी थिइनन्। रानुको भिडिओ भाइरल भएपछि बल्ल उनलाई फेला पारेको उनले बताएकी छन्।

मुम्बईमा थुप्रै गीत रेकर्ड गराएर रानाघाट फर्केकी रानुले वर्षौंपछि छोरी भेट्दा खुसीले रोएकी थिइन्। रानुको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनी टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिएकी थिइन्। कार्यक्रममा हिमेश रेशमियाले उनको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताएका थिए।
Source:Setopati

Related Articles

Close