समाचार

तीनदिन सार्वजनिक बिदाको घोषणा

काभ्रेपलाञ्चोक । तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए ।

उनले भने, ‘ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएका हौँ ।’

उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ । अध्यक्ष लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होसार पर्वमा सार्वजनिक विदा दिएको बताए । नेपाल सरकारले यस वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको थियो ।

तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले यो गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिन बिदा दिइएको जानकारी दिए ।

Related Articles

Close